उप–महानगरपालिकाको कर सेवाकेन्द्र शूरु

पोखरा, ९ माघ
करको दायरा बढाउँदै लगेको पोखरा उप–महानगरपालिकाले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै एवम् कर दाखिरा सहज बनाउन पोखरा–१ बगरमा कर सेवा केन्द्र सुरु गरेको छ । 
कर सेवा केन्द्र सुरु भएसँगै वडा नम्बर एकमा पायक पर्ने सेवाग्राही अब नगरपालिकाको कार्यालयनै धाउन नपर्ने भएको हो । 
वडा नम्बर १, २ र १९ का करदातालाई लक्षित गर्दै खोलिएको सेवा केन्द्रमा अन्य वडाका सेवाग्राहीले पनि कर दाखिला गर्न सक्ने नगरपालिकाले जनाएको छ । ‘पोखरामा पहिलो पटक कर सेवा केन्द्र सुभारम्भ गरेका हौं । यसलाई हामीले पाइलट टेस्टका रुपमा हेरेका छौं,’ कर अधिकृत शिवहरि शर्माले भने, ‘यो सेवा केन्द्र सफल भए अन्य वडामा पनि विस्तार गर्नेछौं ।’ सेवा केन्द्र उद्घाटनसँगै बगरकी सिर्जना वस्ती पहिलो करदाता बनेकी छन् । 
सेवा केन्द्रको आइतबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले उद्घाटन गरेका छन् । बरालले नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन गरेको काम सह्रानीय भएको भन्दै अन्य वडामा पनि सेवा विस्तार गर्न आग्रह गरे । सेवा केन्द्र विस्तारसँगै कर दाखिलालाई अझै सहज बनाउन स्मार्ट कार्ड, एसएमएस प्राणालीलाई अपनाउँदै लैजानुपर्ने उनको भनाइ थियो । 
वडाका करदातालाई सहज बनाउन सेवा केन्द्र खोलिएको र अन्य ठाउँमा केन्द्र विस्तार गर्दै लैजाने योजना नगरपालिकाले बनाएको कार्यकारी अधिकृत नवराज ढुंगानाले प्रस्ट्याए । यसै वर्ष ३ ठाउँमा सेवा केन्द्र स्थापना गर्ने योजना बनाएको कार्यकारी अधिकृत ढुंगानाले जानकारी दिए ।