नगरको बस्तुस्थिती झल्कने पुस्तक विमोचित

नगरको बस्तुस्थिती झल्कने पुस्तक विमोचित पोखरा १४, माघ पोखरा उप–महानगरपालिका कार्यालयले केन्द्रिय तथ्याङ्क विभागसंगको समन्वयमा पोखराको अधिकतम बस्तुस्थिती झल्कने पुस्तकको शुक्रबार एक समारोहका बीच विमोचन गरेको छ । ‘सोसियो इकोनोमिक स्टाटस’ नामक उक्त पुस्तकलाई विकास समितीका सभापति रविन्द्र अधिकारीले विमोचन गरेका हुन् । विमोचन पश्चात अधिकारीले पोखरा उप–महानगरपालिकाले प्रकाशन गरेको पुस्तक ग्रेटर पोखराको अवधारणामा समेत सहयोगी हुने बताए । उनले सुचकहरु सार्वजनिक गर्नु महत्वपूर्ण कार्य भएको र आगामी दिनमा सुचकमा आधारित योजना निर्माणको शुरुवात त्यसभन्दापनि महत्वपूर्ण हुने भन्दै त्यसतर्फ ध्यान दिन उप–महानगरपालिकालाई अनुरोध गरे । वडा स्तरका विभिन्न सुचकहरु समेत समावेश गरि प्रकासन गरिएको पुस्तक नेपालमै पहिलो भएको केन्द्रिय तथ्यांक विभागका निर्देशक शैलेन्द्र घिमिरेले बताए । उनले पोखरा उप–महानगरपालिकाको सामाजिक, आर्थिक अवस्थाको वारेमा जानकारी लिन चाहने सवैका लागि पुस्तक उपयोगी रहेको धारणा राखे । कार्यक्रममा पोखरा उप–महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले उप–महानगरपालिकालाई बुझ्न सहयोगी हुने पुस्तकहरुको प्रकाशनमा यो शुरुवात भएको बताए । आगामी केहि समयमै गरिबी मापनका सुचकहरु समावेश हुने पुस्तक र उप–महानगरपालिकाको सम्पुर्ण वस्तुस्थिती समावेश गरिने सिटि प्रोफाइल पुस्तक प्रकाशनको तयारीमा आफूहरु रहेको जानकारी दिँदै शहरका मुख्य चोकहरुमा सिटि म्याप राख्ने कार्यको उप–महानगरपालिका अन्तिम तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा क्षेत्रिय प्रशासक, स्थानिय विकास अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाज, पत्रकार लगायतको उपस्थिती थियो ।