नयाँ कार्यकारी अधिकृत पौडेलको स्वागत

 
चैत्र १४, पोखरा/
पोखरा लेखनाथ महानगरपालिका कार्यालयको नयाँ कार्यकारी अधिकृतका रुपमा सरुवा भइ आउनुभएका नेपाल सरकारका सहसचिव दीर्घ नारायण पौडेललाई सोमबार एक समारोहको आयोजना गरि पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा स्वागत गरिएको छ । पौडेललाई निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले माला पहि¥याएर स्वागत गर्नुभएको थियो ।

नेपाल सरकारको गत फागुन २७ गतेको निर्णयअनुसार स्थानिय तह कार्यान्वयनमा आएपछि महानगर बनेको पोखराको पहिलो कार्यकारी अधिकृतको रुपमा गत फागुन ३० गतेदेखि नवराज ढुङ्गानाले कार्य गर्दै आउनुभएको थियो । उहाँको गत चैत्र ४ गते टोखा नगरपालिका काठमाडौंमा सरुवा भएपछि पौडेल महानगरको जिम्मेवारी वहन गर्न सरुवा भई आउने पहिलो कार्यकारी अधिकृत हुनुहुन्छ ।

स्वागत समारोहमा बोल्दै कार्यकारी अधिकृत पौडेलले आफू सामूहिकतामा विश्वास गर्ने स्वभावको कर्मचारी हुनुले महानगरका भावी कार्यक्रमहरु सामूहिक छलफलले तय हुने बताउनुभयो । महानगरमा चुनौती र अवसर दुवै रहेको बताउँदै उहाँले त्यसको उचित व्यवस्थापनका निमित्त सवैको सहकार्य आवश्यक रहेको औल्याउनुभयो । महानगर कार्यान्वयनको प्रथम चरणमा आइपुग्नुभएका कार्यकारी अधिकृतलाई कर्मचारीहरुको भरपुर सहयोग रहने सामाजिक महाशाखा प्रमुख बरिष्ठ अधिकृत ओमराज पौडेलले बताउनुभयो । यस्तै, महानगरमा प्रतिनिधित्व गर्ने संघसंगठनको प्रतिनिधित्व गर्दै बोल्नुभएका नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशम जि.सि.ले कार्यकारी अधिकृतहरुले सवै तहका कर्मचारीहरुलाई समान दृष्टिले हेर्नुपर्ने धारणा राख्नुभयो । कार्यालयमा कर्मचारीहरु दशकौंदेखि करार तथा अस्थायी सेवामा रहनु, दरबन्दीभन्दा बाहिरका कर्मचारीहरु रहनु विडम्बना भएको र सो को समाधानमा कार्यालयले पहल गर्नुपर्ने उहाँको भनाई थियो । 
बरिष्ठ अधिकृत ओमराज पौडेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा योजना महाशाखा प्रमुख वरिष्ठ इञ्जिनियर शारदा मोहन काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रशासन महाशाखा प्रमुख अनन्त प्रसाद कोइरालाले सञ्चालन गर्नुभएको थियो ।