पोखरा उप–महानगरपालिकाले २१ औ बार्षिकोत्सव मनायो 

 

माघ १८, पोखरा 
पोखरा उप–महानगरपालिका कार्यालयले विविध कार्यक्रमहरुको आयोजना गरि आफ्नो २१ औ बार्षिकोत्सव मनाएको छ । उप–महानगरपालिकाले बार्षिकोत्सवको सन्दर्भ पारेर लामो समयदेखि स्थगित वडा स्तरिय फुटवल प्रतियोगिताको शुरुवात, अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता, मैत्रिपुर्ण फुटवल प्रतियोगिता, बात्सायन बृद्धाश्रममा खानेपानीको ट्याङ्की वितरणजस्ता विविध कार्यक्रमको आयोजना गरेको थियो । 
२१ औं बार्षिकोत्सव समारोहका अवसरमा उप–महानगरपालिका कार्यालयले उत्कृष्ट करदाताहरुलाई सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेहरुमा होटल ल्याण्डमार्क, सांग्रिला भिलेज रिसोर्ट प्रा.लि., भाटभटेनी सुपरमार्केट पोखरा, होटल पोखरा ग्राण्ड प्रा.लि.र होटल टेम्पल ट्रि रहेका छन् । उप–महानगरपालिकाले शुरुवात गरेको प्लाष्टिकका गिलास र झोला निशेधित अभियानको अनुगमन तथा कार्यान्वयनमा उत्कृष्ट कार्य गरेकोमा टोल विकास संस्था वडा समन्वय समिती पोखरा १८ र सोही वडाका वडा सचिव अर्जुन प्रसाद पौडेलसमेत सम्मानित भएका छन् । यस्तै, उत्कृष्ट टोल विकास संस्थाका रुपमा मान्द्रे ढुङ्गा टोलविकास संस्था पोखरा ५ सम्मानित भएको छ । कार्यक्रममा अवसरमा पत्रकार नारायण कार्कीलाई नगद रु १५ हजारसहित उप–महानगरपालिकाले सम्मान गरेको छ । 
कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रिय प्रशाषक खगराज बरालले उप–महानगरपालिकाले प्रत्येक बर्ष आफ्नो जन्मोत्सव मनाईरहँदा कुनै एक प्रतिवद्धता जाहेर गर्नु राम्रो हुने बताउनु भयो । पोखरा विकासमा हरेक नागरिकको उत्तिकै महत्वपूर्ण जिम्मेवारी र भूमिका हुने हुँदा सवैले आ–आफ्नो क्षेत्रबाट सकरात्मक सोच्नु जरुरी रहेको बताउँदै वहाँले जनप्रतिनीधिहरु नहुँदा स्थानिय निकाय कमजोर बन्दै गएको धारणा राख्नुभयो ।
पोखरा उप–महानगरपालिका कार्यालयका पूर्व कार्यकारी अधिकृत तथा नेपाल सरकारका सह–सचिव झलकराम अधिकारीले उप–महानगरपालिकाको नीति तथा कार्यक्रमको कार्यान्वयनमा हालका कार्यकारी अधिकृत र कर्मचारीहरुले सकरात्मक कदम चालेकोमा खुसी लागेको बताउनु भयो । कार्यकारी अधिकृतहरु जाने आउने भइरहने भएकाले नगरपरिषदबाट पारित नीति तथा कार्यक्रमको कार्यान्वयनमा उप–महानगरपालिकाकै कर्मचारीहरु जिम्मेवार बन्नुपर्ने वहाँको धारणा थियो । कार्यकारी अधिकृत नवराज ढुङ्गानाले विगतमा कार्यकारी अधिकृतहरु आउनासाथ पत्रकार भेटघाट गरि आफ्ना कार्ययोजनाहरु सार्वजनिक गर्ने गरेको परम्परा रहेको भएपनि आफुले सो नगरी नगरपरिषदले विभिन्न समयमा पारित गरेको महत्वपूर्ण योजनाहरुको कार्यान्वयनलाई प्राथमिकतामा राखेर कार्य शुरु गरेको बताउनुभयो । उप–महानगरपालिकाले शुरु गरेका र निरन्तरता दिएका कार्यहरुमा सघाउने सम्पुर्ण कर्मचारी, नागरिक समाज, नागरिक निगरानी समुह, टोलविकास समन्वय संस्था, पत्रकार, उधोगी व्यावसायी सवैमा धन्यवाद ज्ञापन गर्दै वहाँले आगामी दिनमा समेत सकरात्मक सहयोग र रचनात्मक सुझावको अपेक्षामा रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगरस्तरिय राजनीतिक दलका प्रतिनीधि, नागरिक समाजका संयोजक, टोलविकास संस्था समन्वय समितीका संयोजक, उप–महानगरपालिका कार्यालयका महाशाखा प्रमुख लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमका अवसरमा वडास्तरिय फुटवल प्रतियोगिताका विजेता, उपविजेता लगायत अन्तर कर्मचारी खेलकुदका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।