यो पोखरा उपमहानगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

विभिन्न कार्यक्रमहरु सहित १९ औं बार्षिकोत्सव सम्पन्न

माघ १८
पोखरा
पोखरा उप–महानगरपालिकाले विभिन्न कार्यक्रमहरु सहित आफ्नो १९ औं स्थापना दिवश एवम् बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । पोखरा नगरपालिका उप-महानगरपालिका घोषणा भएको १९ औं वर्ष पुरा भएको अवसरमा बार्षिकोत्सव कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उप–प्रधान एवम् संघिय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन प्रवद्धनका लागि सबै पक्ष मिलेर लाग्नुपर्ने बताउनुभयो । वहाँले सवैले यो वा त्यो नभनि आ-आफ्नो भूमिका निर्वाह गर्ने हो भने यस क्षेत्रलाई विश्वकै नमुना क्षेत्र बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । लामो समयदेखि स्थानिय निर्वाचन नभइ रहेको अवस्थामा चुनौतीहरु रहेपनि यसलाइ सवैपक्षको सकरात्मक सहयोगले सामना गरिरहेको वताउँदै स्थानिय निर्वाचनका लागि प्रकृया संसोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो । 
कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली कांग्रेस कास्कीका सभापती यज्ञ बहादुर थापा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् सभासद जिवन परियार,नेकपा एमालेका सभासद चुडामणि जंगली, अखण्ड नेपालका सभासद कुमार खड्का लगायतले पोखराको विकास र स्तरोन्नतीमा आफूहरु सदा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा चिनको लिन्झी शहरले पोखरा उप-महानगरपालिकाको सुचना प्रविधीको विकासमा सहयोगका लागि भन्दै २ लाख अारएमबि अर्थात करिव ३२ लाख रुपैयां नेपाली रकम सहयोग हस्तान्तरण गरेको छ । लिन्झिका डेपुटि कमिस्नर लिहावो स्टान्डिङ्ले पोखरा उप-महानगरपालिकाका कार्यकारी अधिकृत महेश बराललाई सो सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । लिन्झीमार्फत प्राप्त सहयोगका वारेमा पोखरा उप-महानगरपालिकाका ईञ्जिनियर अरुण पौडेलले बोल्नुभएको थियो । 
कार्यक्रमकै अवसरमा पोखरा उप-महानगरपालिका कार्यालयको नियमित प्रकाशन पोखरा दर्पणको विमोचन गरिएको थियो भने पोखरा र चिनका विभिन्न नगरहरुका विच भगिनि सम्वन्ध विस्तार एवम् पोखरा विकासमा विदेशी लगानी भित्र्याउन सहयोग पुर्यािएको भन्दै नगरपालिकाले नेपाल चिन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेलाइ सम्मान गरेको थियो । 
यस्तै पोखरा उप-महानगरपालिका कार्यालयले पोखराको सृजनाचोक स्थित जग्गामा निर्माण गर्न लागेको व्यावसायिक सपिङ् कम्प्लेक्सको शिलान्यास समेत नेपाल सरकारका उप-प्रधान एवम् संघिय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभएको छ । करिव २० वटा साना गाडी एवम् २५ वटाको हारहारीमा मोटरसाइकल पार्कीङ् गर्न सकिने गरि बेसमेन्ट सहितको ३ तले भवन निर्माण गर्न लागिएको हो । उप-महानगरपालिका कार्यालय र नगरविकास कोषको संयुक्त लगानीमा ७ करोड ५८ लाखको लागतमा अागामी १८ महिनामा निर्माण सक्ने गरि रसुवाको गिता कन्ट्रक्सन प्रालिले निर्माण सम्झौता गरेको बरिष्ठ ईञ्जिनियर शारदा मोहन काफ्लेले जानकारी दिनुभएको छ । प्रशासन विभाग प्रमुख अनन्त प्रसाद कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ अधिकृत ओमराज पौडेलले राख्नुभएको थियो ।