सूचना
फिर्केकाे रेखाङ्कन
फिर्केकाे रेखाङ्कन शुरु, मापदण्डमा पर्ने संरचना भत्काइने |
पोखराको बीच भागबाट बग्ने फिर्के खोलाको सिमाना छुट्याइ रेखाङ्कन गर्ने कार्य शुरु भएकाे छ । फिर्के खोलाले चर्चेकाे जमिनबाट ५/५ मिटर दाँया बाँया सिमाना छुट्याउँदै रेखाङ्कन गर्ने कार्यकाे बुधबार महानगरका प्रमुख मानबहादुर जिसीले शुरुवात गर्नुभयाे । फिर्के खाेला अँधेरीकुनाबाट शुरु भई प्रस्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिन्छ । महानगरमा फिर्के खाेलाकाे अतिक्रमण गर्ने र जथाभावी ढल तथा अन्य फाेहर गर्ने क्रमले फिर्के संगसंगै फेवातालसमेत दुषित बनेकाे छ ।
एक हप्ताभित्र सक्ने लक्ष्य राखेर फिर्के खोलाको रेखाङ्कन शुरु गरिएको हाे । फेवातालमा मिसिने फिर्केको अन्तिम विन्दुबाट रेखाङ्कन शुरु गरिएको छ भने रेखाङ्कन पाेखरा १८ अधेरीकुनासम्मै गरिनेछ ।
रेखाङ्कन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने छ । त्यसपछि पनि नहटाए महानगरपालिका आफैले डोजर लगाउनेछ ।