सूचना
सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा नियमन सम्बन्धमा।
सार्वजनिक सूचना
(मिति: २०८३/०२/२२)
विषयः सुर्तीजन्य पदार्थको बिक्री - वितरण तथा नियमन सम्बन्धमा।
सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा ११ बमोजिम शैक्षिक संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र तथा वृद्धाश्रमको चारकिल्लाबाट १०० मिटरभित्र सुर्तीजन्य पदार्थको बिक्री तथा वितरण गर्न निषेध गरिएको छ। साथै, ऐन बमोजिम कसैले पनि चुरोट, बिडी वा सिगारको खिल्ली फुटकर रूपमा बिक्री-वितरण गर्न नपाइने तथा गर्भवती महिला र १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री-वितरण गर्न नहुने व्यवस्था रहेको छ।उक्त कानुनी व्यवस्था तथा जनस्वास्थ्य संरक्षणको उद्देश्यलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण शैक्षिक तथा स्वास्थ्य (सरकारी तथा निजी) संस्थाको चारकिल्लाबाट १०० मिटरभित्र मिति २०८३ साल असार १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारका सुर्तीजन्य पदार्थ (चुरोट, बिडी, सिगार, खैनी, गुट्खा, पानमसला, ई-सिगरेट, भेप लगायत) को बिक्री-वितरण नगर्न, चुरोट, बिडी वा सिगारको खिल्ली फुटकर रूपमा बिक्री-वितरण नगर्न तथा गर्भवती महिला र १८ वर्ष नपुगेका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री-वितरण नगर्न सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ।उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा अनुगमनका लागि सम्बन्धित वडा जनप्रतिनिधिहरूको समन्वयमा स्वास्थ्य संस्था प्रमुख, शैक्षिक संस्थाका प्रमुख, स्कुल हेल्थ नर्स तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट आ-आफ्नो कार्यक्षेत्रमा नियमित निगरानी गर्ने व्यवस्था गरिएको छ।
यस सूचनामा उल्लिखित व्यवस्था विपरीत कार्य गरेको पाइएमा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १७ बमोजिम कसुरको प्रकृतिअनुसार रु. ५,००० देखि रु. १,००,००० सम्म जरिवाना हुन सक्ने तथा प्रचलित कानून बमोजिम अन्य आवश्यक कारबाही समेत गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।सम्पूर्ण व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा सर्वसाधारण नागरिकहरूलाई उक्त व्यवस्था पूर्ण रूपमा पालना गर्न तथा गराउन हार्दिक अनुरोध गरिन्छ।
पोखरा महानगरपालिका
स्वास्थ्य महाशाखा
